Saturday, April 12, 2014

भारतीयको रेकर्ड तोड्दै गिनिजमा सफल भए कृष्ण

काठमाडौं – कुनै पनि शब्दलाई उल्टोबाट तीब्र गतिमा उच्चारण गर्दै नेपाली युवा कृष्ण पाण्डेले गिनिज वर्ल्ड रेकर्ड कायम गरेका छन्। देवदह ५, रुपन्देहीका पाण्डेले एक मिनेटमा ३६ शब्दलाई उल्टोबाट उच्चारण गरेर यो रेकर्ड हात पारेका हुन्। 'नेपालको पहिचान राख्‍न सफल भएको छु,' नागरिकन्युजसँग अमेरिकाबाट टेलिफोन सम्पर्कमा पाण्डेले भने, 'देशको नाम राख्‍न अझै मेहनत गर्न उर्जा मिलेको छ।'

डिल्लीबजारको एनआइसी कलेजबाट दश जोड दुई पूरा गरेका कृष्ण हाल अमेरिकाको कान्सस शहरमा पढाई र कामलाई एकैसाथ अगाडि बढाइरहेका छन्।

भारतका शिशिर हतवारले बनाएको रेकर्ड तोड्दै कृष्णले गिनिज बुकमा आफ्नो नाम दर्ता गरेका हुन्। हतवारले एक मिनेटमा ३० शब्दको उल्टोबाट नाम उच्चारण गरेर रेकर्ड राखेका थिए। कृष्ण अहिले 'रिभर्स स्पेलर' मा विश्वका एक नम्बर बनेका हुन्।

१ हजार ५ सय मानिसबीच कृष्णले आफ्नो कला देखाएका थिए। रमाइलो के थियो भने कृष्णलाई सोधिएका कुनै पनि अक्षरहरु उनलाई यसअघि जानकारी गराइएको थिएन। 'मलाई दिएको सोझो शब्दहरु मैले उल्टोबाट सुनाएको हुँ,' कृष्णले भने। उनले उदाहरण दिँदै संवाददाताको नाम टेलिफोनमै तीब्र गतिमा उल्टोबाट सुनाएका थिए। वुद्ध नेपालमा जन्मेको र सगरमाथा नेपालमा रहेको संदेश उनले रेकर्ड कायम गर्दा प्रवाह गरेका थिए।

नयाँ वर्ष २०७१ को पूर्व सन्ध्यामा उनलाई गिनिज टिम लन्डनबाट रेकर्ड कायम गर्न सकेको 'कन्फर्मेसन' आएको थियो। उनले आधिकारिक उपलव्धीको 'सेलिब्रेसन' भने न्युयोर्कमा गरे।


- See more at: http://nagariknews.com/feature-article/story/16423#sthash.oiJECuPA.dpuf

Tuesday, April 1, 2014

Paras Khadka With Rishidhamala.

Paras Khadka with Rishi Dhamala

चिना हराएको मान्छे: हरिब‌ंश अचार्य

हरिब‌ंश अचार्य
आजकै दिन म सधै मीराको जन्मदिन मनाउँथे । उनी रातो लुगामा सजिन्थिन् । मन खुसि हुन्थ्यो । र, आजै उनको दुई वर्षको पुण्यतिथिमा घरमा श्राद्ध थियो । जताततै पहेँलो । छोरो मोहित पहेँलो टिकामा भित्र–बाहिर गर्दा मीरालाई सम्झिएर मेरो मन भक्कानियो । मैले आफूलाई थाम्नै सकिनँ । भित्र कोठामा पसेँ । मनलागे जति रोएँ ।

त्यसैले आज खुसी र दुख दुबै छ मलाई । मिरा गुमाएको दु:ख छ । अहिले उदाएको पुस्तकको खुसि पनि । मेरो पुस्तकको लागि यहाँ यति धेरै व्यक्तिहरु आइदिनुभयो । मन त तपाईँहरु सबैलाई यहीँ अगाडि स्टेजमा राख्ने छ । तर, ठाउँ पुग्दैन । त्यसैले तपाईँ सबैलाई मैले मेरो हृदयमा राखेको छु ।

...

खास मलाई जन्मिन मनै थिएन । मेरो इच्छा नुहँदा नहुँदै म बुवाआमाको इन्टरेस्टमा जन्मिएँ । बेलाबेला लाग्छ म नजन्मिएकै भए हुन्थ्यो । त्यसमाथि पनि चेतनशील भए पछि झन् यो संसारमा जिउन झन् गाह्रो छ । जन्मिँदा जन्मिएकामा पीर हुर्कँदै गएपछि पढ्न नसकेकोमा पीर, एसएससी दिने बेला पास नभइएला भन्ने पीर, प्रेममा पर्न थालेपछि बिहे नहुँदै प्रेमिकाले छोड्ली भन्ने पीर, विवाह भएपछि छोरा छोरी जन्मिएनन् भन्ने पीर, जन्मिएपछि जन्मिएकामा पीर' सधैँ पीरै पीर ।

त्यसैले मलाई लाग्छ मानिस भन्दा त चेतना नभएको पशु हुनै वेश रहेछ ।

तर, सम्झिँ ल्याउँदा पशुलाई पनि कहाँ सजिलो छ र ।

मृग भनेको अवोध प्राणी हो । त्यसले कसैको केही बिगार्दैन । त्यो भेजिटेरियन हो । अरु कुनै जनावरको केही बिगार्दैन । घाँस खान्छ । उफ्रि हिँड्छ । नबिराउनु, नडराउनु भन्छन् । तर, मृगले केही नबिगारे पनि बाघले पनि त्यसैलाई झम्टिन्छ, स्यालले पनि त्यसैलाई झम्टिन्छ ।

फेरी बाघ त जंगलको राजा हो । उसलाई के को टेन्सन भन्ठान्यो । उसको रामकहानी उसैलाई थाहा छ । बुढेसकालमा उसलाई जति टेन्सन कसैलाई हुँदैन । जवान छँदासम्म उसले जंगल थर्काएर बस्छ । बुढो भए पछि दाँत किरा लागेर झर्छ । आँखामा मोतिबिन्दु हुन्छ । सिकार खोजेर ल्याउने बल हुँदैन । उसको जतिको कारुणिक मृत्यू कसैको हुँदैन । हामी जसले आफूलाई बाघ ठान्ने गरेका छौं, हाम्रा नेताहरु जो आफूलाई बाघ ठान्नुहुन्छ उहाँहरुको भोली त्यसतै बुढो बाघको हालत हुन्छ ।

जंगल छोडौं । पानीमुनिका माछालाई आनन्द साच्योँ । त्यहाँ पनि गोइ, अक्टोपसले माछा खाइदेला भन्ने पीर । अर्को माछाले आहारा बनाउला भन्ने पीर । आकाशका चरा स्वतन्त्र छन् भन्ठान्यो । तिनीहरुलाई पनि चिल आएर ठोकिएला भन्ने पीर । गुलेलीले हान्ला भन्ने पीर । अरुको सिकार भइएला भन्ने डर । आखिर शान्ति कहाँ छ । टेन्सन कहाँ कसलाई छैन ?

यो टेन्सन कहाँबाट सुरु भयो त ? मलाई जन्माईदिने बुवाआमाबाट । उहाँहरुलाई जन्माउने बाजेबजैहरुबाट । मानव जुनी ल्याइदिने देवताबाट ।

हामी सधैँ देवतालाई रहस्यको रुपमा हेर्छौं । आजसम्म कोही छैन जसले भन्न सकोस्, मैले देवतालाई भेटेको छु । त्यसैले मलाई देवताको अस्तित्वमा विश्वास लाग्दैन । तर फेरी कहिलेकाहीँ डराउँछु पनि । कतै देवताले केही बिगारिदिने त होइन ? मानिसलाई त यत्रो दुख छ भने भगवानलाई किन दुख दिनु भनेर म सानो तिनो कुरामा भगवान गुहार्दीन । सबै आपत आफै सल्टाउँछु । ठुलै केही आइपरे भगवान्लाई पुकारौंला भनेर जोगाएर राख्छु ।

तर श्रीमती मिरा बिरामी हुँदा मैले भगवानलाई जोगाएर राखेको चाकडी सबै गरेँ । मन्दिर धाएँ । मन्त्रका किताबहरु ल्याएर पाठ गरेँ । तर देउताले मेरो पाठ सुनेनन् । मेरी श्रीमतिको भौतिक शरिर मबाट छिनेर लगिदियो । म घोर पीडामा भएका बेला रिस पोख्न खोजेँ ? श्रीमती बिरामी हुँदा देउताबाहेक डाक्टर, आफन्त सबैले मेरो साथ दिए । त्यसैले मैले रिस भगवानलाई नै पोखेँ ।

देवतासँग रिसाएर मैले उनलाई एउटा कविता लेखेँ । तर मेरो पुस्तकको पाण्डुलिपि पढ्ने डा. रविन्द्र समिर र अमर न्यौपाने भाईले त्यसलाई पुस्तकमा अटाउन मानेनन् । आज म त्यही कितावमा नअटाएको कविता यहाँ बाचन गर्न चाहन्छु जहाँ मैले भगवानसँग बदलाका शब्द पोखेको छु । बाचन गरिसकेपछि तपाईँहरुले यो अशं पुस्तकमा राख्नुपथ्र्यो भने म झन् खुसि हुने थिएँ ।

अर्को जन्ममा म देवता हुन्छु

अर्को जन्ममा म देवता हुन्छु
देवताहरूलाई मान्छे बनाउँछु

तिमीहरूको चिना म आफैं लेख्छु
भए जति दशा तिमीहरूलाई खन्याउँछु
सानो छँदै टुहुरो बनाउँछु
जन्मस्थलबाट उठिबास लगाउँछु

मेरो मन्दिर घुम्न लगाउँछु
भजन किर्तन गर्न लगाउँछु
मेरा खुट्टा ढोग्न लगाउँछु
खुट्टा पखाली जल खुवाउँछु

धुप दीप बाल्न लगाउँछु
दान दक्षिणा गर्न लगाउँछु
यति धेरै चाकडी गराउँछु
वर दिनुको साटो बरबाद बनाउँछु

अर्को जन्ममा म देवता हुन्छु
देवताहरूलाई मान्छे बनाउँछु

तिमीहरूको पनि म प्रेसर बढाउँछु
मुटु चलाउन यन्त्र जडाउँछु
पाठेघरमा ट्युमर रोप्छु
पित्तको थैलीमा ढुंगा ठोक्छु
एकएक दिनको हिसाब गर्छु
मिर्गौलामा पनि रोग थप्छु
देवताहरू हो,
अर्को जन्ममा म देवता हुन्छु
तिमीहरुलाई म मान्छे बनाउँछु ।
...

भगवानको रहस्यवादमा विश्वास गर्छौं, हामी । छैठीमा भाविले आएर भाग्य लेखिदिन्छ भन्छौं । मेरो बा पण्डित हुनुहुन्थ्यो । उहाँले पनि ठ्याक्कै घडी पला मिलाएर लेख्नु भएको थियो होला मेरो चिना । मेरो जिन्दगीको मोड छर्लंग देखिन्थ्यो होला । तर, त्यो अनुसार भयो भएन थाहा छैन । मैले आफ्नो भाग्य थाहा पाउन चिना देखाउन पाइन । त्यसैले मैले आफैँ कोरेको चिनामा संसारको सबैभन्दा बढी भाग्यमानि पनि भएँ र संसारको सबैभन्दा बढी अभागी पनि ।

सानैमा आमाको काख छुट्यो म यसै अभागी भएँ । आमा जस्तै गरी ममता दिने दिदी पाएँ मेरो भाग्य त्यहीँ थियो । विन्दु दिदीले मलाई आमा जतिकै माया दिएर हुर्काउनु भयो ।

सानैमा मैले बुवा गुमाएँ । म अभागी थिएँ । अहिले बुवा बिर्साउने छोराहरु पाएको छु । मलाई त्यति नै माया गर्छन् । यिनीहरु नै मेरा बुवा हुन् जस्तो लाग्छ । मेरो बाल्य अवस्था बिताएको नक्सालमा मेरा थुप्रै बालसखा थिए । तिनीहरुको साथ सानैमा छुट्यो र मदनकृष्ण श्रेष्ठ जस्तो व्यक्तिको साथ पाएँ मैले । मेरो जीवनमा त्यति ठूलो भाग्य नै कुनै छैन ।

संसारमा मैले सबैभन्दा बढी माया गर्ने र मलाई सबैभन्दा बढी माया गर्ने श्रीमती मीरालाई गुमाए । त्यति ठूलो दुख मलाई कुनै छैन । म जति अभागी कोही भएन । र, मैले फेरी रमिला पाएँ म फेरी भाग्यमानि भएँ । त्यसैले लाग्छ म संसारको सबैभन्दा भाग्यमानि मानिस हुँ र त्यति कै अभागी पनि ।

मेरो चिना हराए पनि अब मलाई लाग्न थालेको छ जीबनमा पाउनुपर्ने दुख र सुख दुबै पाईसकेँ । छोराहरु हुर्किसके । आफैँ दक्ष छन् । मैले मीरा बितेको डेढ वर्षपछि रमिलासँग बिहे गरेँ । कति मानिसले भने– श्रीमती बितेको डेढ वर्षमै बिहे गर्यो । तर त्यो डेढ वर्षको समय पर्नेलाई मात्रै थाहा हुन्छ । एक्लोपनको पीडा भोग्नलाई थाहा हुन्छ । सिति मिति मानिसले एक्लोपनको पीडा भोग्ने आँट गर्नै सक्दैन । डेढ वर्षपछि कि म डिप्रेसन भएर जान्थेँ । कि मैले मृत्यू रोज्नुपथ्र्यो । रक्सि नपिई मलाई निद्रा नलाग्ने भइसकेको थियो । मैले डिप्रेशनको सट्टा दोस्रो बिहे रोजेँ । मृत्यूको सट्टा दोस्रो बिहे रोजेँ ।

मेरो हालत देखेर बसुन्धारा भुसाल दिदीले रमिलालाई मागीदिनुभयो । कति मानिसले त भने 'रमिलासँग पहिल्यै देखि प्रेम थियो रे । हो प्रेम छ । तर अहिले विवाह पछि । अमर प्रेम छ हामीबीच ।

यो किताबमा मैले मिरा गुमाएपछिको एक वर्षमा भोगेका तिनै वियोगका कथा लेखेँ । कसलाई पीडा सुनाउँदै हिँडौं । मैले सबै पीडा कलमको माध्यमबाट कपिलाई सुनाएँ । यो गर्न मलाई डा. रविन्द्र समिले सधैभरी उत्साह दिनुभयो । मेरा लेखाईमा भाई अमर न्यौपानेले जोड, घटाउ, गुणन, भागा गरिदिनुभयो । फलामका मेरा शब्दलाई सुन बनाएर निकालिदिनु भयो । फाईन प्रिन्टका भाईहरुले यसलाई निकाल्न सहयोग गर्नुभयो । मिरा सधैँ बालबच्चालाई माया गर्थिन् । छोरो त्रिलोकले अमेरिकाबाट पठाएको पहिलो कमाईबाट उनले बालबच्चालाई खुवाउने र लुगा दिएकी थिइन् । उनको यही सपनाका लागि मैले काभ्रेमा दुई रोपनी जग्गा दान गरेर बालबच्चालाई सहयोग गर्ने निधोँ गरेको छु । यस पुस्तकबाट जम्मा भएको रकम त्यही च्यारिटीलाई दिन्छु ।

यहाँ मीराको भाई, बुहारी छन् । म तिमीहरुलाई बचन दिन्छु भौतिक शरिर नरहे पनि म तिमीहरुको दिदीलाई यसैगरी बचाई राख्छु । छोराहरुलाई बचन दिन्छु, म तिमीहरुको आमालाई बचाई राख्छु ।
सरी र थ्यांक्यू सार्है सहज तर अति गहन अर्थ राख्ने शब्द हुन् । मेरा सबै गल्तीमा म सबैलाई सरी भन्छु र सबै सहयोगहरुलाई धन्यवाद भन्छु ।
...

मलाई सानामा सबैभन्दा मन नपर्ने चिज पुस्तक थियो । किताब देख्यो कि रिस उठि हाल्थ्यो । दिदी आमाको करले आँखा अक्षरमा अडाए पनि ध्यान लट्टाइँ, चंगा, खोपि र साथीहरुसँग लिन बाकिँ गुच्चामा हराईरहेको हुन्थ्यो । जो मान्छेलाई किताब हेर्नै मन लाग्दैन थियो आज उसैले किताब लेखेको छ । 'चिना हराएको मान्छे' ।



(स्वर्गीय पत्नी मीराको पूञ्य तिथी पारेर आफ्नो पुस्तक विमोचन कर्यक्रममा हरिब‌ंश अचार्यले दिएको मन्तव्यको अंश)

फेसबुकले एक खर्बमा किन्यो नेपाली कम्पनी क्यास अन एड

जुकरवर्गको नजरमा नेपाली कम्पनी परेको छ। फेसबुकका संस्थापक मार्क जुगरबर्गले नेपाली कम्पनी क्यास अन एड एक बिलियन डलर (करिब एक खर्ब रुपैयाँ)मा खरिद गर्ने डिल गरेका छन्।

सिलिकन भ्यालीबाट प्रकाशित हुने प्रविधि पत्रिका आइकनले क्यास अन एड खरिद सम्वन्धि समाचार ब्रेक गरेको छ। क्यास अन एडका अध्यक्ष विश्वास ढकालले आफ्नो फेसबुक स्टाटसबाट त्यसको पुष्टि पनि गरेका छन्।

क्यास अन एडले मोबाइलको रिङटोनमा बिज्ञापन बज्ने विश्वमै नयाँ एप्स डेभलप गरेको छ। सँगसँगै कम्पनीले लक स्क्रिनमा समेत विज्ञापन डिस्प्ले गर्छ। अबको आम्दानी मोबाइल हो भन्ने बुझेका जुकरवर्गले ह्वाट्स एपलाई १९ अर्ब डलरमा खरिद गरेका थिए। उनले गेमिङ प्रविधि ओकुलस पनि दुई अर्ब डलरमा खरिद गरेका हुन्।

जुकरबर्गले क्यास अन एडका अध्यक्ष विश्वास ढकालसँग सिलिकन भ्यालीमा नयाँ डिल गरेको आइकनले लेखेको छ। डिलअनुसार क्यास अन एडको ‘भ्यालुएसन’ वापतको एक अर्ब डलर मध्ये ५० करोड संस्थापकहरुले नगद लिएका छन् भने ५० करोड डलर बराबरको फेसबुकको ‘स्टक’ पाएका छन्। यससँगै क्यास अन एडका अध्यक्ष ढकाल फेसबुकको बोर्डमा पनि रहने बताइएको छ।

म अहिले सबै कुरा बताउन सक्ने अवस्थामा छैन्, तर हाम्रो सपना साकार भएको छ’ क्यास अन एडका अध्यक्ष ढकालले स्काइपमार्फत् संक्षिप्त कुराकानीमा भने, ‘म अहिले तपाईंलाई यति मात्रै भन्न सक्छु, नेपालको एउटा सामान्य कम्पनीले आज विश्वकै नम्बर एक प्रविधि कम्पनी बन्ने होडमा रहेको फेसबुकसँग सहकार्य गरेको छ।’

गत वर्ष सञ्चालनमा आएको क्यास अन एडले सुरु देखिनै राष्ट्रिय/अन्तर्राष्ट्रिय चर्चा कमाएको थियो। फेसबुक संस्थापक जुगरवर्गले विभिन्न च्यानलमार्फत् छ महिनादेखि क्यास अन एड बोर्डसँग कुरा गर्दै आएका थिए। क्यास एण्ड एडको प्यारेन्ट कम्पनी एफवान सफ्टको केही हिस्सा गत वर्ष क्यानेडियन कम्पनीलाई बिक्री गरिएको थियो।

एफवान सफ्ट खरिद गर्ने क्यानेडियन कम्पनीको बोर्डमा रहेका पिटर ए थिलले जुकरवर्गसँग हावार्ड विश्वविद्यालयमा सँगै अध्ययन गरेका थिए। उनैले क्यास अन एडलाई फेसबुकसम्म पुग्ने बाटो खोलिदिएका हुन्।
फेसबुकले आफ्नो बाटोमा चुनौती देखेका कम्पनीहरुलाई एकपछि अर्को गर्दै अक्वायर गर्दै गएको छ। साथै प्रतिस्पर्धी रुपले अघि आउन नसक्ने क्षेत्रलाई बन्द गर्न पनि पछि परेको छैन। केही समय अघि मात्र फेसबुकले आफ्नो इमेल सेवा बन्द गर्दा ह्वाट्सएप र अकुलसलाई आफ्नो स्वामित्वमा ल्याइसकेको छ।

अझ इन्स्टाग्राम त त्यस अघिनै फेसबुक मातहत आएको थियो। याहु, गुगल, माइक्रोसफ्ट जस्ता जायन्टहरुसँग इमेलको बजारमा झगडा गरिरहनु भन्दा तन्नेरी पुस्तालाई आकर्षण गर्ने नयाँ प्रविधि र कम्पनी अक्वायर गर्ने रणनीति जुगरबर्गले लिंदै आएका छन्।

टेलिभिजन र प्रिन्ट मिडियाको गिर्दो बजार तथा भद्दा विज्ञापन प्रति उपभोक्ता अरुचि बढिरहेका बेला क्यास अन एडले विकास गरेको मोवाइल विज्ञापन प्रविधिले विश्वमा अर्को तहल्का पिट्ने उनको विश्वास छ। यस्तो तहल्का सन् २००० पछि फेसबुकले सामाजिक सञ्जालमा पिट्दै आएको छ। फेसबुकको आम्दानी पनि विज्ञापनबाट आउने गरेको छ, मोवाइल विज्ञापनलाई ट्याप गर्न क्यास अन एड उपयुक्त विकल्प हुने पनि आइकनले लेखेको छ।

क्यास अन एडमा अहिले ७० जना कर्मचारी कार्यरत छन्, उनीहरु मध्ये केहीलाई सिलिकन भ्यालीमा लगिनेछ भने केही कर्मचारीलाई काठमाडौंमै काम गर्ने वातावरण बनाइने बताइएको छ। फेसबुकले खरिद गरेपछि क्यास अन एड विश्वका सबै देशमा लाइभ गरिनेछ। अहिले नेपालमा मात्रै सञ्चालन हुने क्यास अन एड ढकालको टिमले भारत, मलेसिया, इन्डोनेशिया, श्रीलंका र अष्ट्रेलियामा लाइभ गर्ने तयारी गरिरहेको थियो।

सामाजिक सञ्ञालमा पछिल्लो समय फेसबुकका लागि टाउको दुखाइ बनिसकेको ह्वाट्स एप खरिद गरेको थियो। ह्वाट्सएप प्रति युवापुस्ताको बढ्दो संलग्नता देखेपछि प्रतिस्पर्धीको खुट्टा तान्ने खेल खेल्नु भन्दा मेलमिलापको तुरुप फाले जुगरबर्गले। संस्थापकहरु टम कोउम र ब्रियन अक्टोमलाई चार अर्ब डलर नगदसहित १३ अर्ब डलर बराबरको फेसबुक सेयर र बाँकी तीन अर्बको सीमित स्टक छुट्याइ १९ अर्ब डलरमा जुगरबर्गले ह्वाट्सएप डिल सम्पन्न गरेका थिए।

१८ महिना अघि ब्रेन्डन इर्बीले सुरु गरेको ओकुलस दुई अर्ब डलरमा किन्न सम्झौता पनि फेसबुकले हालै मात्र गरेको थियो। आरामदायी र प्राकृतिक दृश्य पस्किने आकुलस रिफ्टले स्टेरोस्कोपिक ‘थ्रीडी इमेज’ बनाउने गर्छ। जुन थ्रीडी चलचित्र र थ्रीडी टेलिभिजन भन्दा उत्कृष्ट छ। थ्रीडी गेमलाई अझ सरल बनाउन ओकुलसको विकल्प नभएको बुझ्ने बित्तिकै जुगरबर्गले यो कम्पनी किन्ने फैसला गरेका थिए।

एक अर्ब प्रयोगकर्ता रहेको फेसबुकका संस्थापक जुगरबर्ग अहिले २९ वर्ष पुग्दैछन्। २६ अर्ब ६० करोड अमेरिकी डलर सम्पत्तिका मालिक उनी विश्वका २१ औं धनी हुन्। उनको डिल सूचीमा अब विश्वका कुन आईटी कम्पनी पर्लान् भन्ने जानकारी अहिलेसम्म आएको छैन। तर, जुगरबर्गसँग सफल डिल गरेर तन्नेरी ढकालको टिमले छोटो समयमा देखाएको सफलताले भने आइटी मार्फत विनोद चौधरी पछिको दोस्रो डलर अर्बपति नेपाली छिट्टै जन्मनेमा भने विश्वास गर्न सकिन्छ।


Reference: http://nayasamchar.blogspot.com/2014/03/blog-post_1343.html